Rule 5
विद्यालय खोल्न अनुमति दिने
(१) विद्यालय खोल्ने सम्बन्धमा नियम ३ को उपनियम (१) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले निवेदनसाथ प्राप्त कागजात जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा त्यसरी खोलिने विद्यालयको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भएको देखिएमा प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालय खोल्न शैक्षिक सत्र शुरु हुनुभन्दा तीस दिन अगावै अनुसूची–४ बमोजिमको ढाँचामा आफैले अनुमति दिनेछ र माध्यमिक विद्यालयको हकमा शैक्षिक सत्र शुरु हुनु भन्दा कम्तीमा दुई महिना अगावै जिल्ला शिक्षा समितिको राय सहित प्राप्त निवेदन निर्देशक समक्ष पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुमति दिनु अघि वा निर्देशक समक्ष निवेदन पठाउनु अघि जिल्ला शिक्षा अधिकारीले प्रस्तावित विद्यालयको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नु गराउनु पर्नेछ ।
(३)  माध्यामिक विद्यालय खोल्ने अनुमतिको सम्बन्धमा उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निर्देशकले निवेदन सहितको कागजात जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा प्रस्तावित विद्यालयको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भएको देखिएमा निवेदकलाई शैक्षिक सत्र शुरु हुनुभन्दा तीस दिन अगावै विद्यालय खोल्न अनुसूची–४ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
(४) नियम ३ को उपनियम (२) बमोजिम पूर्व प्राथमिक विद्यालय खोल्न निवेदन परेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले निवेदन साथ प्राप्त कागजात र प्रस्तावित विद्यालय भवनको आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा त्यसरी खोलिने विद्यालयको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भएको देखिएमा शैक्षिक सत्र सुरु हुनुभन्दा तीस दिन अगावै विद्यालय खोल्न अनुसूची–५ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
(५) उपनियम (१) वा (३) बमोजिम जिल्ला शिक्षा अधिकारी वा निर्देशकले विद्यालय खोल्ने अनुमति दिंदा मन्त्रालयले स्वीकृत गरेको विद्यालय नक्साड्ढन र विद्यालय खोल्ने अनुमति सम्बन्धमा निर्धारण गरेको संख्याको अधीनमा रही दिनु पर्नेछ ।